काठमाडौँ । चर्चित बालगायक अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र आर्थिक अभावबारे बोलेका छन्। उनले फेसबुकमा एक लामो स्टाट्स लेख्दै जीवनमा धेरै उतारचढाव भोगेको बताउँदै आफूसँग अहिले न पैसा त न कुनै बैंक ब्यालेन्सनै बाँकी रहेको सुनाएका छन्।
‘मेरो लाइफमा मैले हार पनि खाएँ, जीतेँ पनि, फेरि लडेँ पनि। मेरो जीवनमा धेरै चिज भयो। आज म सडकको बच्चा सडकमै छु। मेरो यात्रा दिन त्यस्तै नै छ। हार खान सिकेको छैन, आत्म बल छ, लडिराखेको छु’, उनले लेखेका छन्, ‘यत्रो सानो उमेरमा समाजको माया पाएको छु, समाजको मायालाई सधैं संगाल्ने छु। अझै गरेर देखाउनु छ, समाजको लागि। समाजले मेरो लागि धेरै सपनाहरू देख्नुभएको छ। अशोकले केही गर्छ भन्ने त्यो सपनालाई मैले साकार गर्नु छ। अगाडि बढ्नु छ।’
दशैं नजिकिँदै गर्दा परिवार र भाइबहिनी कसरी पाल्ने भन्ने चिन्ताले आफूलाई सताएको उनले उल्लेख गरेका छन्। पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता र भोक रहेको उनको भनाइ छ।
‘मलाई अगाडि बढ्नु छ, परिवार-भाइबहिनीलाई पाल्नु छ। अब दशैंतिहार आउँदै छ, खर्च कसरी चलाउने? आउँदै गरेको दिनहरूलाई कसरी टाल्ने, पैसा कसरी कमाउने र पढ्नुपर्ने उमेरमा पैसाको भोक छ,’ उनले लेखेका छन्।
गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभई भाग्य भएको उल्लेख गर्दै उनले गरिबको छोरा भएकोमा कुनै दुःख नभएको उल्खेख गरेका छन्।
संगीतकार टंक बुढाथोकीसँगको विवादतर्फ संकेत गर्दै उनले आफू धेरै थाकिसकेको र अब आफ्नो जीवनलाई सिधा तरिकाले अघि बढाउन चाहेको उल्लेख गरेका छन्। अब छिट्टै आफ्ना नयाँ गीतहरू लिएर दर्शक-श्रोतामाझ आउने तयारीमा रहेकोले सबैले साथ दिन उनको आग्रह छ।
‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ। धन्न! एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो। अनि कसैले दिनुभएको अधिया जग्गा छ। धन्य भगवानले हेरिरहनुभएको छ, मेरो लाइफमा पनि कुनै दिन केही राम्रो होला भन्ने आशा छ’ उनले लेखेका छन्, ‘मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ। यदि मबाट केही गल्ती भएको छ भने मलाई माफ गरिदिनुहोला।’