काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको बीई ११ नेपालमा ४६ लाख ९९ हजार रुपैयाँको नाडा विशेष मूल्यमा सार्वजनिक भएको छ। एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको हो।
कम्पनीले बीई ११ का चार मूल्य विकल्प सार्वजनिक गरेको छ। नियमित मूल्यमा ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, कम्फर्टको ५५ लाख ९९ हजार, लक्जरीको ५६ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
तर नाडा अटो शो अवधिभर यी गाडीमा विशेष छुट दिइएको छ। इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार, कम्फर्ट ५३ लाख ९९ हजार, लक्जरी ५४ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्ट ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
५२० किलोमिटरसम्म रेन्ज
बीई ११ को ५२० किलोमिटर रेन्ज दिने भेरियन्टमा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्रयोग गरिएको छ। ४१० किलोमिटर रेन्ज दिने भेरियन्टमा ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ।
दुवैमा १५० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चरका कारण फास्ट चार्जिङ सुविधा उपलब्ध छ। डीसी फास्ट चार्जरबाट करिब ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी कम्पनीको छ।
लक्जरी फिचरले भरिएको बीई ११
बीई ११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो इन्टेरियर र आधुनिक डिजाइन दिइएको छ। गाडीमा १९८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।
नेपालमा नयाँ ब्रान्डका ईभीबीच प्रतिस्पर्धा बढिरहेका बेला ५० लाख रुपैयाँभन्दा कमको मूल्यमा बीई ११ को इन्ट्री भेरियन्ट सार्वजनिक हुनु स्काईवेलका लागि महत्वपूर्ण मूल्य रणनीति देखिएको छ। विशेषगरी ४१० किलोमिटर रेन्ज र प्रिमियम फिचरसहितको गाडीलाई ४६.९९ लाखको नाडा मूल्यमा ल्याउँदा मध्यम मूल्यका ईभी बजारमा प्रतिस्पर्धा थप बढ्ने देखिन्छ।
स्काईवेल बीई ११ नाडा अटो शोमा एच–१९ स्टलमा राखिएको छ। कम्पनीले नाडा अवधिभर विशेष मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ।