नाडा अटो शो २०२६ सुरु (तस्बिरहरु)

0 Shares

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्द्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन्।

नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्त्व बहुआयामिक हुने उल्लेख गर्दै उनले यस्ता प्रदर्शनीले उपभोक्तालाई नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवका अनुसार अटोमोबाइल क्षेत्र नेपालको राजस्व सङ्कलनको प्रमुख स्रोतमध्ये एक हो। यस क्षेत्रले हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको छ। विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने र कार्बन उत्सर्जन न्यून गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न इभी प्रविधि निर्णायक साबित हुने उनले बताएका छन्।

वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा जोड दिँदै उनले नीतिगत स्थायित्व र चार्जिङ स्टेसन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबिच सहकार्य हुनुपर्ने सुझाव दिएका छन्। स्वदेशी कच्चा पदार्थमा आधारित अटोपार्ट्स उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन पनि उनले व्यवसायीहरूलाई आग्रह गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि(इन्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको उनले उल्लेख गरेका छन्।

सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसका लागि ठोस रणनीति र योजनाको अभाव रहेको टिप्पणी उनले गरेका छन्।

अटोमोबाइल क्षेत्रको योगदानको चर्चा गर्दै अध्यक्ष श्रेष्ठले गत वर्ष १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात हुँदा यस क्षेत्रबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए। कुल राजस्वमा झन्डै ९ प्रतिशत योगदान दिने क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको माग छ।

टायर र ब्याट्रीको उत्पादन नेपालमै सुरु भइसकेको उल्लेख गर्दै उनले आयातित वस्तुलाई स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। नेपालले आगामी १० वर्षमा गुमाउन लागेको ‘जनसाङ्ख्यिक लाभ’ जोगाउन र युवा पलायन रोक्न स्वदेशमै उद्योगधन्दाको विकास अनिवार्य रहेको उनको तर्क छ।

सरकारले पुराना र बन्द उद्योग सञ्चालन गर्ने तयारी गरिरहँदा हाल सञ्चालनमा रहेका उद्योगहरूको समस्यालाई उपेक्षा गर्न नहुनेमा समेत उनले सचेत गराएका छन्।

 


सम्बन्धित समाचार