नेपालमा टाटा सिएरा ईभीको प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी

0 Shares

काठमाडौं । टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौंमा सुरु भएको नाडा अटो शोबाट सिएरा ईभीको बुकिङ लिन थालेको हो।

कम्पनीले हालसम्म सिएरा ईभीको आधिकारिक मूल्य सार्वजनिक गरेको छैन। ग्राहकबाट टोकन मनी लिएर प्रि-बुकिङ सुरु गरिएको सिप्रदीले जनाएको छ। अहिले बुकिङ गर्ने ग्राहकलाई दशैं आसपासमा गाडी डेलिभरी गर्ने तयारी कम्पनीको छ।

सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छन्। १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ।

रियर ह्वील ड्राइभ (RWD) मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ (AWD) भेरियन्टमा २२५ किलोवाटको मोटर जडान गरिएको छ। यसको अधिकतम टर्क ५०४ न्यूटन मिटर रहेको छ।

सिएरा ईभीमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस-टाइप डोर ह्यान्डल, सिग्नेचर रियर क्वाटर ग्लास, १८ इन्चका ह्वील, रुफ स्पोइलर र शार्क फिन एन्टेनालगायतका फिचर छन्। पछाडिको भागमा इन्डिपेन्डेन्ट सस्पेन्सन तथा फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

एसयूभीको इन्ट्री भेरियन्टमै भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध छ। बक्सी डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स र आकर्षक लुकसहित आएको सिएरा ईभीको क्याबिनमा पनि विभिन्न प्रिमियम फिचर समावेश छन्।

एक्टी डट ईभी प्लेटफर्ममा आधारित सिएरा ईभीको क्याबिन डुअल-टोन थिममा तयार गरिएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८ स्पिकर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ माउन्टेड कन्ट्रोल र किलेस इन्ट्रीलगायतका सुविधा छन्।

कारमा ‘आइआरए डट ईभी’ कनेक्टेड कार सुइट उपलब्ध छ, जसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर रहेको कम्पनीको दाबी छ। पाँचौं पुस्ताको मोबाइल कनेक्टिभिटी, वायरलेस चार्जिङ र १५ वटा मल्टिमिडिया फिचर पनि यसमा उपलब्ध छन्।

सुरक्षातर्फ सिएरा ईभीमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर, चारवटै चक्कामा डिस्क ब्रेक, रियर पार्किङ सेन्सर तथा डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा दिइएको छ।

सम्बन्धित समाचार