काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर भएको बताएका छन् । १८औँ नाडा अटो शो २०२६ को उद्घाटनमा सम्बोधन गर्दै उनले दुई तिहाईको नयाँ सरकारले व्यवसायीको मनोबल कमजोर बनाएको संकेत गरेका हुन् ।
‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु,’ उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन्, व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ ।’
नयाँ सरकारले बजेटको प्रतिवद्धताअनुसार व्यवहारमा काम गर्न नसकेको उनको भनाइ थियो । उनले भने, ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ, बजेटका घोषणा अगाडि बढेनन् ।’
अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै उनले राज्यले ८१ अर्ब राजस्व संकलन गरेको बताए । यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएको भन्दै उनले भने, ‘भुइँको टिप्दा पोल्टाको खस्ला भन्नेमा सचेत गराउन चाहन्छु ।’