काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा विभिन्न नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ। कम्पनीले पर्फर्मेन्स, स्टाइल र दैनिक प्रयोगलाई लक्षित गर्दै एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क, आर१५ एस र आर१५ एमका नयाँ भेरियन्ट ल्याउन लागेको हो।
यामाहाको नयाँ लाइनअपमा एरोक्स १५५ एस मुख्य आकर्षणका रूपमा रहनेछ। १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन र कि–लेस प्रविधिसहितको यो स्कुटर पर्फर्मेन्स र दैनिक उपयोग दुवैलाई लक्षित गरिएको कम्पनीले जनाएको छ। कि–लेस सुविधाले चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिने सुविधा दिन्छ।
फेसिनोमा हाइब्रिड विकल्प
स्टाइल र आरामलाई प्राथमिकता दिने ग्राहकका लागि यामाहाले फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्ट ल्याएको छ। आकर्षक डिजाइनसँगै दैनिक यात्रालाई सहज बनाउने उद्देश्यले यी स्कुटर विकास गरिएको कम्पनीको भनाइ छ।
आर१५ सिरिजमा पनि नयाँ विकल्प
यामाहाले लोकप्रिय आर सिरिजअन्तर्गत आर१५ एस र आर१५ एमका नयाँ भेरियन्ट पनि नाडामा सार्वजनिक गर्नेछ। ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोटरसाइकलमा स्पोर्टी डिजाइन, रोड प्रेजेन्स र पर्फर्मेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
MAW ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचि र आवश्यकतालाई ध्यानमा राखेर नयाँ उत्पादन ल्याइएको बताए। उनका अनुसार यामाहाका नयाँ भेरियन्टले पर्फर्मेन्सदेखि प्रविधि, स्टाइल र व्यक्तिगत रुचिसम्मका विभिन्न आवश्यकता समेट्नेछन्।
MAW राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार उत्पादन विस्तार गर्दै आएको बताए। नयाँ मोडलले नेपाली बजारमा यामाहाको पर्फर्मेन्स र स्टाइलको दायरा थप फराकिलो बनाउने उनको भनाइ छ।
नाडा अटो शोमा यामाहाले आफ्ना नयाँ मोडल ब्लू च्याम्बर TW8 र TW10 मा प्रदर्शन गर्नेछ। नयाँ भेरियन्टसँगै यामाहाले नेपाली दुईपांग्रे बजारमा पर्फर्मेन्स, हाइब्रिड प्रविधि र प्रिमियम डिजाइनबीचको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।