काठमाडौं । नबिल बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्कासनका लागि असोज २८ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र जारी गर्न प्रस्ताव गरेको छ। अनुमति पाएपछि बैंकले यसबाट ४ अर्ब रुपैयाँ ऋणपुँजी जुटाउनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
प्रस्तावअनुसार कुल निष्कासनको २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गर्ने बैंकको योजना छ।
१० वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ५.५ प्रतिशत ब्याज पाउने प्रस्ताव गरिएको छ। तर, ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति प्राप्त भएपछि मात्रै बिक्री प्रक्रिया अघि बढ्नेछ।