काठमाडौं । तराई क्षेत्रमा गर्मी निरन्तर बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा केही दिन तातो हावा चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको बताइन् । बागमती र गण्डकी प्रदेशमा पनि गर्मी बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ । वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ । ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
नेपालमा यस वर्षको मनसुन असार ५ गते कोशी प्रदेशबाट भित्रिए पनि हाल मनसुन कमजोर अवस्थामा रहेकाले देशका अन्य भू(भागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।