नयाँ दल रास्वपामा पुरानै प्रवृत्ति!

0 Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन असार ७ गते उद्घाटन भई असार ९ गते समापन गर्ने कार्यतालिका थियो । तर, असार १० गतेसम्म उम्मेदवारको सूचीसमेत प्रकाशित हुन सकेको छैन ।

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपालगायत दलहरुको व्यवहार र कार्यशैलीमा प्रश्न गरेर उदाएको नयाँ दल रास्वपाको महाधिवेशनमा पुरानै प्रवृत्ति देखिएको छ । महाधिवेशन स्थलमा प्रतिनिधि, प्रवेक्षक नेता कार्यकर्तामा भद्रगोल देखियो भने पार्टीकै सांसदले बोलाएका पाहुनामाथि छुद्र अभिव्यक्ति दिएर लज्जित बनाएका छन् ।

गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डिजिटल क्रान्ति गरी पहिलो दल बनेको रास्वपाको महाधिवेसशन स्थलमा पुराना पार्टीकै शैलीमा प्रचार सामाग्रीसहित कागजहरु फालेर फोहर बनाएको छ । पार्टीका प्रतिनिधिलाई थकाउन गलाउन समयमै महाधिवेसन कार्यतालिका बमोजिम अघि नबढाएर गुटबन्दी गरिएको नेताहरु बताउँछन् ।

पार्टी सभापति रवि लामिछाने कि वरिष्ठ नेता एमव् प्रधानमन्त्री बालेन्द्र शाहपक्ष भनेर नेताहरु अघोषित रुपमा कित्ताकाटमा उभिने गरेका छन् । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले प्यानल नबनाउन बारम्बार चेतावनी दिए पनि भित्री रुपमा यो वा त्यो प्यानल बनाएर लबिङ हुने गरेका छन् ।

महाधिवेशन कार्यतालिका बमोजिम अघि नबढेपछि प्रतिनिधिले पुराना पार्टीकै जस्तो छिटो सञ्चालन गर्न नाराबाजी गरेका थिए । जारी महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका अतिथिलाई लिएर सांसद खगेन्द्र सुनारले ‘छुद्र’ टिप्पणी गर्न भ्याए ।

सुनारले पत्रकारमाझ रास्वपाको निम्तोमा आएका पाहुनालाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारीसमेत भन्न भ्याए । उनले भने, ‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’ उनले पुरानै दलको प्रवृत्ति दोहोर्‍याएर पार्टीलाई विवादमा तानेको नेताहरु बताउँछन् । यसबारे पार्टीले कारबाहीसम्म गर्ने संकेत गरेको छ ।

यस्तै, पुराना पार्टीका नेताहरुले आसेपासे र आफन्तलाई पोसेर पदमा पुर्‍याएको भन्दै तिखो आलोचना हुँदै आएको थियो । जेनजी युवाहरुले पुराना पार्टीका नेताहरुले पदमा बसेर दुरुपयोग गर्ने गरेको आरोप लगाउने गरेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयबाट मात्रै तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

जसमा राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकाल, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल छन् । प्रधानमन्त्रीकै सचिवालयमा भएका कारण पार्टीको माथिल्लो तहमा जाने आँट गरेको नेताहरु बताउँछन् ।

डिजिटल रुपमा उदाएको जेनजी युवाहरुको प्रतिनिधित्व गर्ने पार्टी भनिए पनि पुराना पार्टीभन्दा फरक नदेखिएको विश्लेष्ण हुन थालेको छ । महाधिवेशनपछि रास्वपाले लिने पार्टीको आकार आउन अझै बाँकी रहेको छ ।

सम्बन्धित समाचार