गायिका एलिना चौहानलाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ

0 Shares

काठमाडौं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिए।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन्। उनीविरूद्ध म्याद थप भइसकेको छैन। उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ। यसबारे ब्युरोले प्रेस विज्ञप्तिमार्फत जारी गर्ने तयारी गरिरहेको छ।

गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्। त्यसमध्ये एक जना समातिएका हुन्।

‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनेकी थिइन्। अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताएकी थिइन्।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो।

सम्बन्धित समाचार