बाढी प्रभावित क्षेत्रमा वाइसीएलद्वारा अस्थायी आवास निर्माण सुरू

0 Shares

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खटिएका वाईसीएलका स्वयंसेवकले अस्थायी आवास निर्माणको काम थालेका छन् । सुरूदेखि नै रसुवा, नुवाकोटको प्रभावित क्षेत्रमा ६ सय स्वयंसेवक परिचालन गरिएको वाईसीएलले जनाएको छ ।

बेपत्ताहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीडित परिवारको गाँस र बासको व्यवस्थापनमा सहयोग गरिरहेको अध्यक्ष पुष्प ओलीले बताए । राहत वितरणसँगै धादिङ र नुवाकोटका बाढीग्रस्त घरहरूको सरसफाइ र स्थानीय बासिन्दाको आवश्यकताअनुसार अस्थायी आवास निर्माणको काम अघि बढाइएको हो ।

ओलीका अनुसार मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा टोली खटाइएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ स्थित ठूलो खोला, लामोस्वाँती, रातमाटे र महादेव फाँटका प्रभावित परिवारहरूका लागि १५० वटा अस्थायी आवास निर्माण गरिने उनले जानकारी दिए ।

वैकल्पिक सडक हुँदै रसुवाका प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड तथा म्याट्रेस लगायतका अत्यावश्यक सामग्री पुर्‍याइएको पनि उनले बताए ।

त्यसैगरी, त्रिशूली नदीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन बाटो हुँदै नुवाकोटको विदुर नगरपालिकाका अति प्रभावित ७, ८ र ९ नम्बर वडामा पुगेर लत्ताकपडा, सिरक, डसना, औषधि, स्टेसनरी तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

वाइसिएलले हाल ‘निभेको चुलो बालौँ ! मरेको आशा जगाऔँ !!’ अभियान सञ्चालन गरी पीडितहरूलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराइरहेको छ। सांगठनिक जनसम्पर्क तथा सहयोगी दाताहरूको मद्दतबाट राहत तथा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइएको संगठनले जनाएको छ ।

सम्बन्धित समाचार