भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय

0 Shares

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने भएको छ ।

सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्रिपरिषद्ले बैठकले यस्तो निर्णय गरेको जनाएका हुन् ।

मन्त्री तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।

‘गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु.१५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ’, मन्त्री तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।

कुनै परिवारले मासिक नगद भाडा सुविधा लिन नचाहेको खण्डमा सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाको भनाइ छ । साथै उनले यसका लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित सबै स्थानीय तहहरूमा फाराम पठाइसकिएको बताएका छन् ।

सम्बन्धित समाचार