काठमाडौं । भारतीय टेलिभिजनमा प्रसारण हुने धारावाहिक ‘कुमकुम भाग्य’ बाट चर्चित बनेकी अभिनेत्री सञ्चिता उगलेले आत्महत्या गरेकी छन् । उनी केवल २२ वर्षकी थिइन् ।
पीटीआईका अनुसार महाराष्ट्रको पालघर जिल्लाअन्तर्गत नालासोपारा क्षेत्रमा रहेको आफ्नै निवासमा आइतबार साँझ करिब ७ बजे उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाका बेला उनी घरमा एक्लै थिइन् ।
एक प्रहरी अधिकारीले समाचार एजेन्सीलाई भने, ‘घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । त्यहाँ कुनै शंकास्पद अवस्था फेला परेन र कुनै सुसाइड नोट पनि भेटिएन ।’
ती अधिकारीका अनुसार सञ्चिताका बुवाले पनि उनको मृत्युमा कुनै षड्यन्त्र भएको वा कसैलाई जिम्मेवार ठान्ने आधार नरहेको बताएका छन् ।
उनको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल पठाइएको छ । प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गर्दै उनले यस्तो कदम चाल्नुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ ।
सञ्चिता उगले टेलिभिजन धारावाहिक ‘कुमकुम भाग्य’ मा दिया टन्डनको भूमिकाका कारण व्यापक रूपमा परिचित थिइन् । उनले ‘वाग्ले की दुनिया–नई पीढी नए किस्से’ मा पनि अभिनय गरेकी थिइन् र पछि ‘दिलवाली दुल्हा ले जाएगी’ मा मुख्य भूमिका पाइन् । टेलिभिजनबाहेक उनले ‘छावा’ र ‘साइलेन्स २ः द नाइट आउल बार सुटआउट’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी थिइन् ।
निधन हुनुभन्दा केही घण्टाअघि मात्र उनले सामाजिक सञ्जालमा आफ्नो अन्तिम पोस्ट साझा गरेको देखिन्छ । उक्त भिडियोमा उनी चर्चित गीत ‘डफली वाले’ मा गुनगुनाइरहेकी थिइन् ।