काठमाडौँ । अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को उपाधि सेनेगलले पुनः प्राप्त गरेको छ ।
खेलकुदसम्बन्धी विवाद समाधान गर्ने सर्वोच्च निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले सेनेगलको अपिल स्वीकार गरेपछि उपाधि पुनः उसकै नाममा कायम भएको हो ।
यससँगै दुई महिनाअघि अफ्रिकी फुटबल महासंघ (काफ)ले विवादास्पद निर्णय गर्दै मोरक्कोलाई प्रदान गरेको उपाधि खोसिएको छ ।
गत जनवरी १८ मा मोरक्कोको राजधानी रबातमा भएको फाइनलमा सेनेगलले मोरक्कोलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
तर खेलका क्रममा भएको विवादपछि काफले मार्चमा सेनेगलले खेल बहिष्कार गरेको ठहर गर्दै उपाधि खोसेर मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो ।
खेलको दोस्रो हाफमा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीले विरोधस्वरूप मैदान छाडेका थिए ।
करिब १४–१५ मिनेटपछि मैदान फर्किएको सेनेगलले अतिरिक्त समयमा पापे गुएयेको गोलमार्फत जित निकालेको थियो । मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।
काफको निर्णयविरुद्ध सेनेगलले कासमा अपिल गरेको थियो । कासका महासचिव म्याथ्यु रिबका अनुसार फ्रान्सेली खेलकुद कानुनका विज्ञ जेराल्ड सिमोनको नेतृत्वमा रहेको इजलासले रेफ्रीबाट कानुनी त्रुटि नभएको निष्कर्ष निकालेको छ ।
सेनेगल फुटबल संघले काफको निर्णयलाई चुनौती दिँदै यसले फुटबलको विश्वव्यापी नियम र रेफ्रीको निर्णयको अन्तिम मान्यतामाथि असर पार्न सक्ने दाबी गरेको थियो ।
कासको पछिल्लो निर्णयसँगै सेनेगलले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको मान्यता पाएको छ भने मोरक्को उपाधिबाट वञ्चित भएको छ ।