आजदेखि दशौँ राष्ट्रिय खेलकुदका सुरु, औपचारिक उद्घाटन अर्को साता हुने

0 Shares

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदै छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल आजदेखि सुरु हुन लागेका हुन् । आजदेखि पाँच खेलमा प्रतिस्पर्धा सुरू हुनेछ । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित हुने छन् । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ । विभिन्न प्रतियोगितामा सहभागी खेलाडी सुर्खेत पुगिसकेका छन् ।

बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने छ । दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने छन् । प्रतियोगिताका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पहिलो पटक नगद पुरस्कारको व्यवस्था गरिएको छ । मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुनेछ ।

सम्बन्धित समाचार