काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक र कार्गो विमान आपसमा ठोक्किएका छन् । शनिबार राति भएको दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् ।
पनामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलको ट्याक्सीवेमा गुडिरहेको थियो । त्यही क्रममा त्यसको पखेटा यूपीएसको कार्गो विमानको अघिल्लो भागमा ठोक्किएको हो ।
दुर्घटनाका बेला यात्रुवाहक विमानमा १६६ जना यात्रु र चालक दलका ६ सदस्य गरी १७२ जना सवार थिए । दुर्घटनापछि सबैलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको थियो ।
अमेरिकी समयअनुसार राति करिब ९ः१५ बजे दुर्घटना भएको हो । यूपीएसको कार्गो विमान भने कोलम्बियाको बोगोटाका लागि उडान भर्ने तयारीमा थियो ।
ठक्करपछि कोपा एयरलाइन्सका पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमानमा क्षति पुगेको जानकारी गराएका थिए । केही समयपछि विमानको बायाँ पखेटा भाँचिएको पनि उनले बताएका थिए ।
कोपाका एक यात्रुका अनुसार ठक्कर लागेपछि विमान अचानक एकातिर मोडिएको थियो । त्यसपछि चालक दलका सदस्यले यात्रुलाई आत्तिन नदिई आ–आफ्नो सिटमा बस्न आग्रह गरेका थिए ।
कोपा एयरलाइन्सले विमानलाई टर्मिनलसम्म ल्याएर सबै यात्रुलाई सुरक्षित रूपमा ओरालेको जनाएको छ । दुर्घटनामा दुई जनालाई सामान्य चोट लागेको र अन्य यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले दुर्घटनाबारे अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई सहयोग गर्ने पनि बताएको छ ।