काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कर्णालीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गरेको छ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले नयाँ संयोजनसहित मैदानमा उत्रिने निर्णय गरेको हो ।
चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाई टोलीमा समावेश गरेको छ । अघिल्लो खेलमा खेलेका अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानलाई भने विश्राम दिएको छ ।
कर्णाली याक्सले पनि टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा खेल्दै छन् । अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा छ । उसले प्लेअफमा स्थान पक्का गरिसकेको छ । कर्णाली याक्स भने सातौं स्थानमा छ ।