प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गियो, को-को जाँदैछन् ?

0 Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आगामी औपचारिक भारत भ्रमणमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बरको तेस्रो साता (मंसिर ६/७ गतेतिर) हुने तय भएको उक्त भ्रमणका लागि प्रधानमन्त्रीको नेतृत्वमा ३६ देखि ४० सदस्यीय नेपाली प्रतिनिधिमण्डल दिल्ली प्रस्थान गर्ने तयारी भएको हो ।

भ्रमण दलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ सहभागी हुने निश्चित भएको छ ।

मन्त्रीहरूबाहेक प्रधानमन्त्रीको भ्रमण टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि रहनेछन् । यस्तै, प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरू, केही सांसद, परराष्ट्र सचिवसहित सम्बन्धित मन्त्रालयका उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका उद्योगी-व्यवसायी तथा सञ्चारकर्मीहरूको समेत भ्रमण दलमा सहभागिता रहनेछ ।

प्रधानमन्त्री पदभार ग्रहण गरेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो । भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार, पूर्वाधार तथा कनेक्टिभिटी, सीमा व्यापार, हवाई रुट र विकास साझेदारीका विविध एजेन्डामा उच्चस्तरीय छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार