२२ करोडको सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध तस्कर पक्राउ

0 Shares

काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य पर्ने साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्याण्डबाट काठमाडौं आएका तिघरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनी कात्तिक २८ गते थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका थिए ।

हवाई मार्गबाट लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा प्रहरीले विभिन्न शंकास्पद व्यक्तिको गतिविधि तथा प्रोफाइल निगरानी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार तिघरी यसअघि पनि दुईपटक नेपाल आइसकेका थिए । पहिलोपटक हवाई मार्गबाट नेपाल आएका उनी दोस्रोपटक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा उनले लाओसबाहेक जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमण गरिसकेको खुलेको छ ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जालका मुख्य व्यक्तिमध्ये एक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

तिघरीको साथबाट बरामद गरिएको साढे पाँच किलो सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार बरामद हेरोइन भारत पुर्‍याउने योजनासहित ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

सम्बन्धित समाचार