काठमाडौं । यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने तपाईहरुको लागि गाडी तथा बाइक बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित बम्पर छुट र अफरहरु ल्याएका छन् । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै अटोमोबाइल बजारमा बम्पर छुट दिने लहर सुरु भएको छ ।
दशैं, तिहार लक्षित गरी सवारी साधन बिक्रेता कम्पनीहरुले धमाधम आकर्षक फेस्टिभ अफरहरू सार्वजनिक गरेका छन् । चाडपर्वमा ग्राहकको आकर्षण बढाउन, बिक्रीदर उकास्न तथा मौज्दात स्टक क्लियरेन्स गर्न अटो व्यवसायीहरूले यसपटक लोभलाग्दा छुट योजना सार्वजनिक गरेका छन् ।
विभिन्न सवारी साधन बिक्रेता कम्पनीहरूले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १२ लाख रुपैयाँसम्मको नगद छुट घोषणा गरेका छन् । नगद छुटका अतिरिक्त निःशुल्क सवारी कर, एक वर्षको पूर्ण तथा अटो प्लस बीमा, निःशुल्क होम चार्जर, वारेन्टी थप तथा लामो समयसम्म निःशुल्क सर्भिसिङजस्ता सुविधाले ग्राहकलाई थप आकर्षित गर्न खाजेका छन् ।
एक्सपेङ– सबैभन्दा धेरै १२ लाखसम्मको विशेष छुट
दशैं अफरमा सबैभन्दा ठूलो रकमको छुट एक्सपेङ ब्राण्डमा देखिएको छ । नेपालका लागि एक्सपेङको आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सपेङ जी–६ खरिद गर्दा ग्राहकलाई सिधै १२ लाख रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ ।
नगद छुटबाहेक ग्राहकले ६।६ किलोवाटको वालमाउन्ट चार्जर, एक आर्थिक वर्षको सडक दस्तुर तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले आफ्नै घरमा बसेर गाडीको टेस्ट ड्राइभ गर्ने र प्रविधि बुझ्ने विशेष सुविधा पनि पाउनेछन् ।
होन्डा – कारमा १० लाख छुट, बाइकमा स्क्र्याच कुपन
होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले चारपांग्रे र दुईपांग्रे दुवै सवारीमा आकर्षक अफर ल्याएको छ ।
फेस्टिभ अफर होण्डाको सफर अन्तर्गत होण्डाका कारहरु सीआरभी, एलिभेट, सिटी तथा सिटी हाइब्रिड लगायत खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । साथै, १ आर्थिक वर्षको सडक कर, फुल इन्स्योरेन्स र स्पट एक्सचेन्ज सुविधासँगै आकर्षक एक्सचेन्ज बोनस पनि पाइनेछ। यो अफर आगामी कात्तिक ३० गतेसम्म लागू हुनेछ ।
बाइक तथा स्कुटरतर्फ –यो दसैँ, आशाको सुरुवात योजना अन्तर्गत नयाँ बाइक वा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सकिनेछ । यसबाहेक सहयोगको संकल्प अन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ ।
जीएसी आयोन– ९ लाख रुपैयाँसम्मको महाबचत
प्रिमियम विद्युतीय सवारी साधन खोज्ने ग्राहकका लागि जीएसी आयोनले ‘दशैंको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ। सीजी मोटर्सका अनुसार यो योजना अन्तर्गत आयोनका ईभी खरिद गर्दा ९ लाख रुपैयाँसम्मको आकर्षक छुट प्राप्त हुनेछ। यसका साथै एक्सचेन्जमा आकर्षक बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स तथा ६।६ किलोवाटको घरायसी चार्जर निःशुल्क उपलब्ध गराइनेछ।
हुन्डाई– नगद छुटसँगै ८ लाखसम्म जित्ने मौका
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ ड्राइभ २०८३ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडीको खरिदमा सिधै ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर कुल ८ लाखसम्मको फाइदा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षकै सडक कर र हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिन घोषणा गरेको छ ।
एमजी मोटर– ३ लाख रुपैयाँसम्मको बचत
एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले ड्राइभ मोर, सेलिब्रेट मोर चाडपर्व अफर सार्वजनिक गरेको छ ।
असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विद्युतीय तथा हाइब्रिड मोडलहरू एमजी फोर, एमजी एस–५, एमजी एस–६, आईएम–६ र यू–९ पिकअप सवारी खरिदमा ३ लाख रुपैयाँसम्मको बचत लाभ प्राप्त हुनेछ । उक्त अफरमा निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क सडक कर, सहज एक्सचेन्ज र फाइनान्स सुविधा समावेश छन्।
जीडब्लुएम– गो विथ मोर फेस्टिभ अफर
भीजी इम्पेक्स प्रालिले ग्रेटवाल मोटर ९जीडब्लुएम० का गाडीहरूमा गो विथ मोर अफर ल्याएको छ । जसअन्तर्गत विद्युतीय एसयूभी ओरा फाइभ ५ खरिदमा २ लाख रुपैयाँसम्म र ह्याबल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मको लाभ पाइनेछ । यो योजनामा निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर र एसेसरिज उपलब्ध छन् ।
आइकार र ओमोडा/जेको–२ लाख छुट
एसपीजी अटोमोबाइल्सले आफ्ना विभिन्न लोकप्रिय मोडलहरूमा नगद छुट र आकर्षक प्याकेज ल्याएको छ ।
आइकार भी २३ खरिदमा ५३ लाख ९९ हजार मूल्य रहेको यो मोडल २ लाख छुटसहित ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । साथै ११ वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको वार्षिक कर, १ वर्षको बीमा र ७ किलोवाटको वाल चार्जर पाइनेछ ।
ओमोडा तथा जेको खरिदमा ओमोडा ई–फाइभका दुवै भेरियन्टमा १ लाख, जेको जे–फाइभमा ३ लाख र जे–सिक्स टीमा २ लाख रुपैयाँ नगद छुट दिइएको छ । यी गाडीमा पनि १ वर्षको कर, बीमा र ७ किलोवाटको चार्जर निःशुल्क छ ।
बजाज मोटरसाइकल– गेम अफ पावर, चेतकको ‘फेस्टिभ फाइभ’
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज गेम अफ पावर – खेल्ने होरु अभियान ल्याएको छ । कम्पनीको उक्त अभियान अन्तर्गत बजाजको नयाँ मोटरसाइकल किन्ने ग्राहकले नगद १ लाख रुपैयाँसम्मको उपहार जित्न सक्नेछन् । स्मार्ट घडी तथा विशेष उपहारहरू समेत राखिएको छ ।
डिजिटल रूपमा जोडिन चाहनेहरूका लागि पल्सर रेसिङ गेम पनि सञ्चालन गरिएको छ । जहाँ उत्कृष्ट प्रदर्शन गर्नेले विभिन्न उपहार र मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् । बजाज चेतकले दसैंदेखि छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन् । जसमा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन् ।
सुजुकीको दसैँ–तिहार अफर
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन्। देशभर लागू हुने उक्त योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधासमेत लिन सक्नेछन्। शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ। सुविधा सम्बन्धित योजनाका सर्तहरूमा आधारित हुनेछ। यो योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ। जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन्।
बेनेलीको दसैं अफर
बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधा दिने योजना ल्याएको हो।
अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको बोनस पाउनेछन्। पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दसैंको अवसरमा थप मूल्य लाभ दिने कम्पनीले जनाएको छ।
ग्राहकको खरिद प्रक्रिया सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।
अल्ट्राभायोलेटको दसैं अफर
विद्युतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दसैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक वैद्यज अर्गनाइजेसनले मोटरसाइकल खरिद गर्ने ग्राहकलाई हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क दिने जनाएको छ।
कम्पनीका अनुसार योजनाअन्तर्गत अल्ट्राभायोलेटका हरेक मोटरसाइकल खरिदमा ग्राहकले हेल्मेट र डायमन्ड कोटिङ पाउनेछन्। साथै, मोटरसाइकल खरिदका लागि सहज वित्तीय सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।