काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग ह्वाट्सएपमार्फत कुराकानी गरी घुस रकम माग गरेका थिए। अनुसन्धानका क्रममा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै अन्य तीन जनासँगको मिलेमतोमा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिहरूलाई खाद्य आयात अनुमति तथा विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरिदिने भन्दै रकम मागेको पाइएको अख्तियारको दाबी छ।
घुस रकम लिन विभिन्न बैंक खाता तथा क्यूआरसमेत प्रयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। अख्तियारका अनुसार अर्जुन अधिकारीको नेपाल बैंकको खातामा २५ हजार रुपैयाँ र प्रभु बैंकको खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको थियो ।
त्यस्तै, बसन्त कुमार बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ र सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको छ ।
यसरी विभिन्न बैंक खातामा कुल २८ लाख २० हजार ३७५ रुपैयाँ घुस/रिसवत रकम दाखिला गरी प्रयोग तथा प्रचलनमा ल्याएको पुष्टि भएको अख्तियारको भनाइ छ ।
आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको दाबी गर्दै सोहीबमोजिम सजायको मागदाबी गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले चारै जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन् ।