छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुनेछ : प्रचण्ड

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःसाहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।

पूर्वप्रधानन्यायाधीश शमशेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ सङ्केत गर्दै उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे। आगामी दिनमा यस्तो दुःसाहस नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी थपिदिनुपर्ने बताए।

संयोजक दाहालले भने, ‘यसरी सरकार चलाउने दुःसाहस भइराखे यसको मूल्य धेरै ठूलो पर्छ र यस्तो घटना नदोहोर्‍याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने लाटो मान्छेले पनि बुझेको छ। यदि त्यसो हो भने त सुरक्षा बढाइदिने हो। पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ। जे भए पनि यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो घातक हुन्छ।’

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसाबले स्वाभाविक रहेको प्रतिक्रिया उनले दिए। प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने दाहालको भनाइ छ।

सम्बन्धित समाचार