कांग्रेस नेता खड्काले गगनलाई भने– तपाईं हिम्मत र साहसका साथ तत्काल एकताका लागि अग्रसर हुनुस्

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बढ्दो आन्तरिक कलह र सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै पूर्ण एकताका लागि अपिल गरेका छन् । क्रियाशील सदस्यता विवादका कारण २८ जिल्ला अझै समस्याग्रस्त रहेको र पार्टीको वैधानिकताका विषयमा सर्वोच्च अदालतले पुनरालोकनको निस्सा दिएको जटिल परिस्थितिबिच नेता खड्काको यस्तो धारणा सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको आदेशपछि सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट व्यक्त भइरहेका टीका टिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन्। ‘सामाजिक सञ्जालको दोहोरी र गालीगलौजले कहीँ पुगिँदैन, खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो प्रवृत्ति सबै लागेर बन्द गरौँ ।’

नेता खड्काले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी एकताका लागि अग्रमोर्चामा उभिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुहोस्, हामी सबै सहयोगी बन्छौं । तर यहाँनिर स्पष्ट हुन जरुरी छ, निर्णायक तपाईं नै हो ।’

पार्टी इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै खड्काले व्यक्तिगत महत्वाकांक्षा, अहंकार र प्रतिशोधबाट मुक्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सम्मानित सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर हो भन्ने हेक्का राखौँ,’ खड्काले लेखेका छन् ।

देशको राष्ट्रियता संकटमा परेको र लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै खड्काले अस्तित्व रक्षाको प्रश्न उठाएका छ । उनको भनाइ छ, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, लोकतन्त्र रहे पार्टी रहन्छ र मात्र हामी रहने ठाउँ रहन्छ । नभए सबै खरानी हुन्छ ।’

सम्बन्धित समाचार