काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।
उनको प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने छन् । उनले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । उनको यो पहिलो विदेश भ्रमण हो ।