काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई अझै तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको र अब पुनर्स्थापना तथा पुननिर्माणको काम सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री र पदाधिकारीबाट प्राप्त भएको बताए।
पार्टीले प्रभावित क्षेत्रमा कुनै पनि किसिमको कमीकमजोरी हुन नदिन आग्रह गरेको छ। यस्तै, बेपत्ता भएकाहरूको शव पहिचान हुन नसकेको अवस्थामा डिएनए परीक्षण छिटो गर्न, पीडित परिवारलाई राहतको अनुभूति गराउन र सहयोगको सेवालाई प्रभावकारी बनाउन माग गरिएको छ।
अझै पनि पाँच हजारभन्दा बढी व्यक्तिहरू बेपत्ता (मिसिङ) रहेको र कयौँ परिवार पीडामा रहेको उल्लेख गर्दै पार्टीले मृत्यु भएको वा नभएको बारे छिनोफानो गर्न माग गरेको छ। राज्यका कानुनी अड्चनहरू भए कानुन संशोधन गरेरै भए पनि मृत्युको प्रमाणपत्र दिनुपर्ने र परिवारको सहमतिमा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको विषयमा सरकारले सहजीकरणको भूमिका खेल्नुपर्ने पार्टीको ठहर छ।
बैठकमा मधेस प्रदेशको अधिवेशनका सम्बन्धमा देखिएका आन्तरिक समस्याहरूको बारेमा पनि छलफल भएको छ। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।
त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागहरूमा नयाँ सदस्यहरू मनोनीत गरेको छ। पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको छ।
बाढीको विपद्पछि रास्वपाले स्थगित भएका सबै औपचारिक तथा नियमित कामहरू सुचारु गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू, निर्वाचित सांसदहरू र पार्टी नेताहरूको आचरणलाई सुधार गर्दै पार्टी र सरकारबिचको सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएका छन्।