काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेर मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पुजा चौधरी र पदमबहादुर परियार समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण प्रस्ताव राखेका थिए ।
सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । संसद्बाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सधैं क्रियाशील रहेको उनले बताए ।
कांग्रेस संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य पनि गरेकी थिइन् र मनसुनजन्य विपद्मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनेकी थिइन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो, किनभने मनसुन जान लागिसक्यो, यति ढिलो प्रस्ताव किन ल्याएको? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’
उक्त विषयमा जवाफ दिन ढिला भएको गृहमन्त्री गुरुङले स्वीकार गरे ।
उनले भनेका छन्, ‘यस विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, सम्मानीत सदनबाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सदैव क्रियाशील रहने व्यहोरा निवेदन गर्न चाहन्छु, यसमा अलिकति ढिला भएको छ, हजुरहरूलाई जवाफ दिन ढिला भएको भन्ने कम्प्लेन पनि देखेँ, जवाफ ढिला भयो होला, तर जवाफ भन्दा पनि अगाडि चाहिँ हाम्रो काम हुन्छ, काम धेरै अघि बढेको छ, त्यसबारे म विस्तृत रुपमा अपडेट गर्ने पनि छु ।’