काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, प्युठान जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाबाट कमलराज रिजालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु गिरी रहेका थिए भने राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा महासंघकी केन्द्रीय उपाध्यक्ष जानका केसी, बिजुवार खानेपानी उपभोक्ता समितिका वर्तमान अध्यक्ष तथा वडा अध्यक्ष, लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष, महासचिव, सचिव लगायत प्युठान जिल्लाभरिका विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु गिरीले खानेपानी उपभोक्ता समितिको गठनले नगरपालिका र उपभोक्ताबीच समन्वय गर्न सहज हुने बताए। उनले स्वच्छ खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भए पनि उपभोक्ता समितिहरूले खानेपानी आयोजना सञ्चालन गरी सरकारलाई महत्वपूर्ण सहयोग पुर्याइरहेको उल्लेख गरे।
त्यसैगरी, विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले सरकारले उपभोक्ता संस्थालाई कमजोर बनाउने वा खारेज गर्ने कानुनी व्यवस्था फिर्ता लिनुपर्ने धारणा राखे। उनले खानेपानी क्षेत्रमा उपभोक्ता समितिहरूले सरकारकै जिम्मेवारीका धेरै काम प्रभावकारी रूपमा गर्दै आएको बताए। साथै, विद्युत् महसुल, ब्याजदर तथा जनसहभागितासम्बन्धी नीतिले खानेपानी क्षेत्रमा उपभोक्तामाथि अतिरिक्त आर्थिक भार परेको भन्दै सरकारले जनमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले खानेपानी क्षेत्रमा जनताको हितविपरीत हुने निर्णयको महासंघले सशक्त रूपमा विरोध गर्ने चेतावनीसमेत दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले खानेपानी उपभोक्ता समितिहरूको सुदृढीकरण, आपसी समन्वय तथा उपभोक्तामैत्री नीतिको आवश्यकता औंल्याएका थिए।