काठमाडौं । राष्ट्रिय सानासहरी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली, रामपुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कमलराज भट्टराई तथा राष्ट्रिय सानासहरी महासंघ लुम्बिनी प्रदेशका महासचिव नीलकण्ठ पौडेल सहितको टोली अभियानका क्रममा पाल्पा जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग भेटघाट तथा छलफल भएको छ । टोलीले तानसेन खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, बर्तुङ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष, प्रभास खानेपानी उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष तथा सचिवलगायतसँग भेटवार्ता गरेको थियो।
छलफलका क्रममा हालको खानेपानी क्षेत्रको अवस्था, नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने विषयमा सरकारको प्राथमिकता, सरकारको जनताप्रतिको उत्तरदायित्व तथा उपभोक्ता समितिमार्फत सञ्चालित खानेपानी उपभोक्ता संस्थाहरूलाई कानुनी रूपमा खारेज वा विघटन गर्न सकिने व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुनी संशोधन गर्नुपर्ने विषयमा गम्भीर छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले पहाडी जिल्ला पाल्पामा रहेका खानेपानी संस्थाहरूको संरक्षण, सुदृढीकरण र प्रभावकारी व्यवस्थापनमा जोड दिएका थिए।
भेटघाट तथा छलफललाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुने तानसेन खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, बर्तुङ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष , प्रभास खानेपानी उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष, सचिव लगायत सम्पूर्ण पदाधिकारी तथा सहभागीहरूप्रति राष्ट्रिय सानासहरी महासंघले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।