स्याङ्जा, वालिङ । वालिङ सानासहरी खानेपानी उपभोक्ता संस्थाको साधारणसभा संस्थाकी अध्यक्ष विध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभाको आर्थिक विकास समितिका सभापति भोजराज अर्याल रहेको थियो। त्यसैगरी, राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली र गण्डकी प्रदेशका माननीय प्रदेशसभा सदस्य विशिष्ट अतिथिका रूपमा सहभागी भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव टेकलाल खनालले गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भोजराज अर्यालले वालिङ सानासहरी खानेपानी आयोजना प्रदेशकै उदाहरणीय आयोजना भएको उल्लेख गरे । विभिन्न जटिलता र चुनौतीका बाबजुद संस्थाले निरन्तर संघर्ष गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाएको भन्दै उनले गण्डकी प्रदेशबाट विद्युत् महसुलमा छुट उपलब्ध गराउन सफल भएको जानकारी दिए ।
राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई अपेक्षित प्राथमिकतामा नराखेको टिप्पणी गरे । अन्य विकास आयोजनामा जनसहभागिता अनिवार्य नहुने अवस्थामा खानेपानी आयोजनामा भने ३० प्रतिशत जनसहभागिता अनिवार्य गरिनु उपयुक्त नभएको उहाँको भनाइ थियो। साथै, सरकारले ल्याएको नयाँ खानेपानी ऐनका केही प्रावधानप्रति महासंघको असहमति रहेको उल्लेख गर्दै त्यसको पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी, गण्डकी प्रदेशका माननीय प्रदेशसभा सदस्यले खानेपानी नागरिकको आधारभूत अधिकार तथा सरकारको दायित्व भएको बताउँदै प्रदेश सरकारका प्रतिनिधिका रूपमा खानेपानी क्षेत्रको विकास र उपभोक्ताको हितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा संस्थाको प्रगति, आगामी योजना तथा खानेपानी सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।