काठमाडौं । पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका नेतृत्वविहीन भएको छ। पालिका अध्यक्ष भ्रष्टाचार मुद्दामा परेपछि रिक्त रहेको हो भने उपाध्यक्ष पार्टी परिवर्तन गरेपछि हटाइएको हो । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दर्ता भएपछि उनको पद यसअघि नै रिक्त भइसकेको छ।
अध्यक्ष बैजुप्रसाद गुप्ताको पद यसअघि नै रिक्त भइसकेको अवस्थामा उपाध्यक्ष फातुमा खातुनले दायर गरेको रिट सर्वोच्च अदालतबाट खारेज भएपछि गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्व थप अन्योलमा परेको छ। नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष खातुनले आफूलाई पुनः उपाध्यक्षको हैसियतमा कामकाज गर्न दिन माग गर्दै अन्तरिम आदेशसहित उत्प्रेषणको रिट दायर गरेकी थिइन् तर, सर्वोच्च अदालतका न्यायाधीश शारदा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गरेपछि उनको पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवार विपरीत अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय समितिले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा निर्वाचन आयोगले गत असार ९ गते सूचना प्रकाशित गर्दै खातुनलाई पदमुक्त गरेको थियो।
फागुन २१ मा सम्पन्न निर्वाचनका विपक्षी उम्मेदवारलाई मत मागेको आरोपमा अनुशासन समितिको सिफारिस बमोजिम काङ्ग्रेसले निर्वाचन आयोगलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न अहिले स्थानीय तहमा प्रमुख चासोको विषय बनेको हो ।