उत्कृष्ट काम गर्ने खानेपानी उपभोक्ता समिति र कर्मचारी सम्मानित

0 Shares

खोटाङ । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ ।

दिक्तेलस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो ।

यस्तै, वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ ।

दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवर्द्धनन, बाली सघनीकरण, विविधीकरण तथा बजारीकरणमा देखाएको सक्रियता अनुकरणीय रहेकाले सम्मान गरिएको डिभिजन प्रमुख डा. महेश यादवले जानकारी दिए ।

कार्यालयले हरेक वर्ष योजनाको निर्माण तथा सञ्चालनको मूल्यांकन गरी उत्कृष्ट काम गर्ने योजनाका उपभोक्ता समितिलाई सम्मान गर्ने गर्दै आएको छ । डिभिजन कार्यालयले लामो समयदेखि सञ्चालनमा नरहेका पुराना सिँचाइ योजनालाई पुनःसञ्चालनमा ल्याएर कृषि उत्पादन वृद्धि तथा बसाइँ सराइँ न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले काम गरिरहेको जानकारी दिएको छ ।

विगत ९ वर्षदेखि बन्द रहेको बाँझगरा कुलो सिँचाइ योजनामा हाल पानी सञ्चालन भइसकेको र त्यसबाट किसान उत्साहित भएका छन् । करिब १५ वर्षदेखि सञ्चालनमा नरहेको वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना पुनः सञ्चालनमा आएपछि त्यहाँ चैते धान रोपेर उत्पादनसमेत भइसकेको जानकारी प्राप्त भएको कार्यालय प्रमुख डा. यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रशासन तथा व्यवस्थापनतर्फ उत्कृष्ट योगदान पुर्याएको भन्दै लेखापाल सविना मगरलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । सम्मान कार्यक्रममा डिभिजन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेको कार्यक्रमको समिक्षा समेत गरेको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र कार्यालय प्रमुख डा. यादवले सम्मानपत्रसहित खदा ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित समाचार