धनगढी । धनगढीमा आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगर ७ का ३५ वर्षीय ज्योति चौधरीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल लगेका थिए ।
उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए । अन्तिम अवस्थामा आफन्तले उनलाई काठमाडौं ल्याउँदै गर्दा आइतबार राति नै बाटोमा मृत्यु भएको जनाएको छ ।
त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
दुई हप्तामा ११ घटना
गत असार २५ गतेपछि देशभर आत्मदाहसम्बन्धी ११ वटा घटना भएका छन् । काठमाडौँमा मात्र ७ वटा आत्मदाह प्रयास र आत्मदाहका घटना भएका छन् ।
सुरुमा मुगुको सोरु गाउँपालिका वडा नम्बर १ जवलधारा घर भएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
पार्किङको विषयमा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँग विवाद हुँदा उनले आत्मदाह गरेका थिए । घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन गरिएको छ ।
साउन ४ मा काठमाडौँ महानगर ६ स्थित बौद्ध गेटनजिकै खाजा पसल चलाउँदै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाह प्रयास गरिन् । अहिले उनको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार हुँदै छ ।
असार २७ मा बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाह गरे । उनले आफ्नै घरको भान्साकोठामा आफैँलाई आगो लगाएका थिए । उपचराको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
साउन ५ मा कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका सुरेशचन्द्र श्रेष्ठले पनि आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँ महानगर २६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुर स्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।
उनले आफैँले चलाएको बा. ५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा उनले आफैँलाई जलाएका हुन् । उनी औषधीको व्यवसायी हुन् ।
यस्तै, काठमाडौँको तारकेश्वर नगरपालिका १ मा शनिबार मध्यान्ह रश्मी रिजाल मृत फेला परिन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्केकी थिइनन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । उपत्यकामा भएका घटनामध्ये रिजालको आत्मदाह पाँचौँ घटना हो ।
काठमाडौँमा भएका थप दुई वटा आत्मदाह प्रयासको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर काउन्सेलिङ गरेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा सडकपेटीमा तरकारी बेच्दै आएका एक पुरुषलाई उद्धार गरिएको थियो ।
नगर प्रहरीको हस्तक्षेपका कारण तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले साउन ४ मा आत्मदाह प्रयास गरेका हुन् ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै अर्का एक युवाले पनि शीतलनिवास अगाडि आत्मदाह प्रयास गरेका थिए । आत्मदाह गर्न खोज्ने २७ वर्षीय उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ । उनी रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
यस्तै, सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । असार २६ मा गोडैता नगरपालिका १० घर भएका ३५ वर्षीय मण्डलले आत्मदाह प्रयास गरेका थिए ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा साउन २ मा ५ जना कैदीबन्दीले आत्मदाह प्रयास गरे । रौतहटको गरुडामा असार ३१ मा २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाह प्रयास गरे । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।