काठमाडौं । प्रतिनिधि सभा आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदै छन् । बैठकमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महालेखापरीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने छिन् ।
त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छ भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ ।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।
यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।