काठमाडौं । नेपालका लागि मारिस ग्यारेस (एमजी) गाडीको आधिकारिक आयात कर्ता तथा बिक्रेता कम्पनी पारामाउन्ट मोटर्सले ९ महिनामा साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २ अर्ब ४० करोड रुपैयाँ बढीको आम्दानी तथा कारोबार गरेको हो ।
कम्पनीले २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको थियो भने २०२३ मा २ अर्ब ७ करोड, २०२४ मा ४ अर्ब १२ करोड र २०२५ मा ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले १ अर्ब ८० करोड अल्पकालीन कर्जाको रेटिङ गराएको छ । इक्रा नेपालमा गराएको रेटिङ अनुसार कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १.३ गुणा रहेको छ । यस्तै, किस्ता तिर्न सक्ने क्षमता भने १.२ गुणा रहेको रेटिङ देखिएको छ । कम्पनीले ए फोर रेटिङ पाएको छ ।
कम्पनीले सबैभन्दा धेरै एमजी फोर ईभी र एमजी एस फाइभ बिक्री गरेको छ । ८७ प्रतिशत कारोबार यी दुई मोडल बिक्रीबाट भएको छ । जसमध्ये ४२ प्रतिशत हिस्सा एमजी एस फाइभले ओगटेको छ। कम्पनीले ३ वटा शोरुम र १५ वटा डिलरहरू विस्तार गरिसकेको छ ।
२०२४ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ६.८ प्रतिशत रहेकोमा २०२५ मा घटेर करिब ५.२ प्रतिशतमा झरेको थियो । नेपालको ईभी बजारमा विभिन्न नयाँ ब्रान्डहरूको आगमन र बढ्दो प्रतिस्पर्धाका कारण सञ्चालन नाफा मार्जिनमा केही गिरावट आएको हो। चालु आवको पहिलो ९ महिनासम्ममा सञ्चालन नाफा मार्जिन केही सुधार भई ६ प्रतिशत पुगेको छ ।
२८ अगस्ट २०१६ मा स्थापना भएको पारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले सन् २०१६ अगस्टदेखि नै नेपालका लागि एमजी ब्रान्डका सवारी साधन आधिकारिक रुपमा आयात तथा बिक्री गर्दै आएको छ । २०२० को मार्च महिनादेखि कम्पनीले नेपालमा माज्दा ब्राण्डका गाडीहरु पनि आयात तथा बिक्री वितरण गर्न सुरु गरेको हो । यसबाहेक, कम्पनीले मार्च २०२४ देखि चिनियाँ ईभी निर्माता विलिङ आयात गर्न थाल्यो ।