काठमाडौं । रोयल इन्फिल्डले नेपालमा लोकप्रिय मोटरसाइकल हन्टर ३५० को नयाँ भेरियन्ट र दुई नयाँ रंग सार्वजनिक गरेको छ। कम्पनीले टार्माक ब्ल्याक (Tarmac Black) नामको नयाँ भेरियन्ट ल्याउनुका साथै टप भेरियन्टमा मुम्बई येलो (Mumbai Yellow) र मुनसट ह्वाइट (Moonshot White) रंग थपेको हो।
नयाँ भेरियन्टमा अलॉय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस र सिंगल च्यानल एबीएस लगायतका सुविधा छन्। कम्पनीका अनुसार हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’को विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको छ।
टार्माक ब्ल्याकमा नयाँ भेरियन्ट
दैनिक प्रयोगलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नयाँ भेरियन्ट ल्याइएको कम्पनीले जनाएको छ। यसमा अलॉय ह्विल, राउन्ड ह्यालोजन हेडल्याम्प, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल दिइएको छ।
त्यस्तै, यसमा सिंगल च्यानल एबीएस र स्लिप एन्ड असिस्ट क्लच पनि रहेको छ। कम्पनीका अनुसार यसले गियर परिवर्तनलाई सहज बनाउँछ।
दुई नयाँ रंग थपियो
हन्टर ३५० को टप भेरियन्टमा थपिएका मुम्बई येलो र मुनसट ह्वाइट रंगले ग्राहकलाई थप विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ।
मुम्बई येलो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रंग हो। त्यस्तै, मुनसट ह्वाइटमा ओरायन अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए। डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढिरहेको उनको भनाइ छ।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघ राज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाउन सफल भएको बताए। नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने उनले बताए।
मूल्य कति ?
नयाँ टार्माक ब्ल्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, मुम्बई येलो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको छ। दुवै मूल्य एक्स–शोरुम नेपाल हुन्।
नयाँ भेरियन्ट तथा रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ।