काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी २० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई एक सय रनले पराजित गरेको हो ।
भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो । जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्वाधिक ४३ रन बनाए । लुके जोङ्गवेले ३३ रन बनाएका थिए । ब्रायन बेन्नेटले २६ रन बनाए ।
भारतीय बलर मुकेश कुमार र अभेश खानले ३-३ विकेट लिएका थिए । रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी २० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरे । उनले ४७ बलमा १०० रन बनाए ।
त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिङ्कु सिंहले २२ बलमा ४८ रन बनाएका थिए । यो जितपछि भारतले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।