काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकपका लागि इतिहासकै सर्वाधिक ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ) बराबरको पुरस्कार राशि ४८ वटा सहभागी टोलीहरूलाई वितरण गरेको छ ।
सीएनबिसीका अनुसार यस संस्करणको विश्वविजेता बनेको स्पेनले ५१ मिलियन डलर (७ अर्ब ८४ करोड रुपैयाँ) प्राप्त गरेको छ भने उपविजेता बनेको अर्जेन्टिनाले ३४ मिलियन डलर (५ अर्ब २३ करोड रुपैयाँ) पाएको छ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने इङ्ल्यान्डले ३० मिलियन डलर (४ अर्ब ६१ करोड रुपैयाँ) र चौथो स्थानमा सीमित बनेको फ्रान्सले २८ मिलियन डलर (४ अर्ब ३० करोड रुपैयाँ) पुरस्कार हात पारेका छन् ।
प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुग्ने पाँचौँदेखि आठौँ स्थानका चार टोलीले जनही २० मिलियन डलर पाउँदा नौौँदेखि १६औँ स्थानमा रहेर ‘राउन्ड अफ १६’ बाट बाहिरिएका आठ टोलीले जनही १६ मिलियन डलर प्राप्त गरेका छन् । यस्तै ‘राउन्ड अफ ३२’ पुग्ने १७औँदेखि ३२औँ स्थानका १६ टोलीले जनही १२ मिलियन डलर पाउँदा समूह चरणबाटै बाहिरिएका ३३औँदेखि ४८औँ स्थानसम्मका टोलीहरूले पनि जनही १० मिलियन डलर (करिब १ अर्ब ५३ करोड रुपैयाँ) पाएका छन् ।
फिफाले यो पुरस्कार रकम सिधै सम्बन्धित राष्ट्रिय फुटबल संघलाई हस्तान्तरण गर्ने भएकाले खेलाडीहरूले पाउने बोनस वा सुविधाको निर्णय भने सम्बन्धित संघले नै गर्नेछन् । यसपटक तीन देश (अमेरिका, क्यानडा र मेक्सिको) मा प्रतियोगिता आयोजना हुँदा टोलीहरूको यात्रा र व्यवस्थापन खर्च बढेकाले अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको हो; जसअनुसार सन् २०२२ को विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएकोमा यसपटक विजेता स्पेनले ५१ मिलियन डलर प्राप्त गरेको छ ।