काठमाडौँ । लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब बेसिग्तास आबद्ध हुने नजिक पुगेका छन्। इटालियन ट्रान्सफर पत्रकार निकोलो सिराका अनुसार दुवै पक्षबीच थप एक वर्ष विस्तार गर्न सकिने विकल्पसहित १२ महिनाको सम्झौतामा सिद्धान्ततः सहमति जुटेको छ। लिभरपुलमा ९ वर्ष बिताएर गत महिना टोलीबाट अलग्गिएका ३४ वर्षीय इजिप्टियन फरवार्डलाई टोलीमा भित्र्याउन बेसिग्तासका मुख्य प्रशिक्षक भिनचेन्जो इटालियानोले विशेष पहल गरिरहेका छन्।
यसैगरी, एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले क्लब छाड्ने निर्णय गरेमा उनलाई टोलीमा भित्र्याउन सक्ने सम्भावित क्लबका रूपमा आर्सनल अगाडि देखिएको छ। स्पेनिस सञ्चारमाध्यम कादेना सेरका अनुसार एट्लेटिको आफ्ना घरेलु प्रतिद्वन्द्वी बार्सिलोनालाई बलियो बनाउन चाहँदैन। त्यसैले उसले बार्सिलोनालाई अल्भारेज बेच्ने छैन। यद्यपि, आर्सनलसँगको सम्झौतामा भिक्टर ग्योकेरेसलाई समावेश गराउन सकिने परिस्थिति बनेमा एट्लेटिको वार्ताका लागि तयार हुने बताइएको छ। एट्लेटिकोले टोलीबाट खेलाडी बाहिरिनुअघि नयाँ खेलाडी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको छ।
उता, जर्मन क्लब आरबी लाइपजिगका प्रभावशाली फरवार्ड यान जिओमान्देका लागि रियल म्याड्रिडले पेस गरेको १०० मिलियन युरोको प्रस्ताव अस्वीकृत भएको छ। स्काई जर्मनीका अनुसार ९० मिलियन युरो नगद र १० मिलियन युरो ‘एड-अन’सहितको यो प्रस्ताव लिभरपुलको अघिल्लो प्रस्तावसरह भए पनि लाइपजिगको मूल्याङ्कनभन्दा कम रहेको छ।