आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

0 Shares

काठमाडौं । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध बलियो योगफल खडा गरेको छ ।

वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको हो ।

आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।

आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।

यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १-१ विकेट लिए ।

फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

सम्बन्धित समाचार