काठमाडौँ । पाकिस्तानी अलराउन्डर हुसेन तलातले नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका छन् । अहिले जारी म्याचमा उनी कर्णाली याक्सको प्लेइङ ११ मा समावेश भएका हुन् ।
पाकिस्तानको क्रिकेट बोर्ड (पिसिबी) ले आफ्नो देशका हरेक खेलाडीका लागि २५ हजार डलर अतिरिक्त रकम मागेपछि पाकिस्तानी खेलाडीहरुको सहभागीमा अन्योल उत्पन्न भएको छ । कर्णाली याक्समा आवद्ध दुई खेलाडीमध्ये साहिब्जादा फरहान घर फर्किएका छन् । तलात भने नेपालमै छन् ।
स्रोतका अनुसार कर्णाली याक्सले पिसिबीको शर्त स्वीकार गरेर तलातलाई रोकेको हो । पिसिबीले मागेको २५ हजारमध्ये केही हिस्सा तलातका एजेन्टले व्यहोर्ने सहमति भएको बुझिएको छ ।
कर्णालीले विदेशी खेलाडीको कोटामा तलातबाहेक डेभिड मिलर, मार्क वाट र अरिफुल इस्लामलाई समावेश गरेको छ ।
यता कर्णालीविरुद्धको म्याचमा जनकपुर बोल्ट्सका पाकिस्तानी अलराउन्डर इफ्तियार अहमद भने खेलेनन् । उनी प्लेइङ ११ भित्र छैनन् । जनकपुरले विदेशी खेलाडीको कोटामा जिम्मी निसम, कुशल परेरा, मोइन अली र हर्मित सिंहलाई खेलाएको छ ।