काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका छन् ।महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षको पछिल्लो रणनीतिमाथि तिखो व्यङ्ग्य गरेका हुन् ।
उनले आफ्ना कार्यकर्तालाई आन्दोलनकारी बनाउने र फेरि तिनैसँग वार्ता गरेर सम्झौताको नाटक गर्ने गरिएको उल्लेख गरेका छन् । पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त ?’
पछिल्लो समय देशमा भइरहेका विभिन्न आन्दोलन, त्यस क्रममा भएका झडप र सरकारी पक्षसँग भएका सम्झौताहरूलाई लक्षित गर्दै महासचिव पोखरेलको यो भनाइ आएको हो । उनले सत्तासीन शक्तिले योजनाबद्ध रूपमा परिस्थिति भड्काउने र त्यसको राजनीतिक दोष विपक्षी दलहरूलाई दिएर आफू उम्किने प्रयास गरेको आरोप लगाएका छन् ।