काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब ४ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये १४ ठूला जीवन बीमा कम्पनीले २ खर्ब रुपैयाँ, माइक्रो जीवन बीमा कम्पनीले १ अर्ब २१ करोड र वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत ३ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
समग्रमा जीवन बीमा कम्पनीको व्यापार १२.२५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जीवन बीमाको व्यापार १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ थियो ।
कुन कम्पनीले कति गरे व्यापार ?
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५३ अर्ब ६८ करोड रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, नेशनल लाइफले २४ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले २१ अर्ब २३ करोड, हिमालयन लाइफले १८ अर्ब ५६ करोड, सूर्यज्योति लाइफले १० अर्ब ४३ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६० करोड रुपैयाँको व्यापार गरेको छ ।
कुन कम्पनीको कति वृद्धि ?
सबैभन्दा धेरै आईएमई लाइफले ३७.९६ प्रतिशतले व्यापार वृद्धि गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले गत वर्ष ७ अर्ब ४५ रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी, सिटिजन लाइफले २४.९३ प्रतिशतले वृद्धि गर्दा रिलायबल नेपाल लाइफले २४.१८ प्रतिशतले, प्रभु महालक्ष्मी लाइफले २१.३२ प्रतिशतले, सानिमा रिलायन्स लाइफले १७, सन नेपाल लाइफले १६.८० र सुर्यज्योलि लाइफले १६.५९ प्रतिशतले व्यापार वृद्धि गरेका छन् ।
माइक्रोमा गार्डियन अगाडि
एक वर्षमा गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने क्रेष्ट माइक्रोले ४१ करोड ८० लाख र लिवर्टी माइक्रोले ३६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
