काठमाडौं । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी-२० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए ।
त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा नौ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्वाधिक २९ रन बनाए । डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।
भारतीय बलर रवि बिस्नोईले सर्वाधिक ४ विकेट लिएका थिए । वाशिंटन सुन्दरले २ विकेट लिएका थिए । यो जितपछि पाँच खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडि भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।