काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य समायोजन गरेको हो ।
निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाएको हो ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले पनि मूल्य समायोजन गरेको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर (१४.२ केजी) दुई हजार ६० रुपैयाँ पर्ने छ । यसअघि ग्यासको मूल्य दुई हजार १६० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर एक हजार ५६६ डलर कायम गरिएको छ ।