केबलकार पुनः सञ्चालनमा आएसँगै चन्द्रागिरी हिल्सको आम्दानी सुधारोन्मुख, हकप्रदमार्फत ऋण घटाउने तयारी

0 Shares

काठमाडौं। गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षति पुगेपछि करिब ३ महिना बन्द रहेको केबलकार सेवा पुनः सञ्चालनमा आएसँगै चन्द्रागिरी हिल्सको आम्दानीमा पनि सुधार देखिन थालेको छ । सोही कारण इक्रा नेपालले चन्द्रागिरीलाई ‘इक्राएनपी आइआर बीबी प्लस’ रेटिङ पुनः पुष्टि गर्दै ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ अर्थात् नकारात्मक निगरानी सूचीबाट हटाएको छ ।

कम्पनी सञ्चालनमा आउनु र यसले आफ्नो ऋण दायित्व पुनर्तालिकीकरण गर्न सफल हुनु रेटिङमाथिको नकारात्मक दबाब कम हुनुको प्रमुख कारण रहेको जनाइएको छ । रेटिङ प्रतिवेदनअनुसार कम्पनीको वित्तीय अवस्था अझै सन्तोषजनक रहेको छ । कम्पनीको दीर्घकालीन ऋण रेटिङ ‘इक्राएनपी एबीबी प्लस’ पनि यथावत् राखिएको छ । यसले २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कर्जाको रेटिङ पुनः पुष्टि गरेको हो ।

यता, कम्पनीले प्रस्ताव गरेको १०० प्रतिशत हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम ऋण घटाउन प्रयोग गर्ने योजना बनाएको छ, जसले कम्पनीको पुँजी संरचना थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । एजेन्सीले चन्द्रागिरी हिल्सको व्यवसायिक विविधतालाई पनि सकारात्मक पक्षका रुपमा उल्लेख गरेको छ ।

काठमाडौंको बाहिरी क्षेत्रमा रहेको कम्पनीको केबलकार सेवा, बुटिक रिसोर्ट, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गन्तव्य, जिपलाइन, वाल क्लाइम्बिङ तथा अन्य मनोरञ्जनात्मक गतिविधिले कम्पनीलाई बहुआयामिक आम्दानीको स्रोत उपलब्ध गराएको छ ।

यसले चन्द्रागिरीलाई राजधानी नजिकको प्रमुख पर्यटकीय आकर्षणका रुपमा स्थापित गर्न सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । विदेशी तथा सार्क राष्ट्रका पर्यटकहरुको बढ्दो सहभागिताले पनि कम्पनीको आम्दानी संरचनालाई बलियो बनाएको इक्राको निष्कर्ष छ । आर्थिक वर्ष २०२५ मा कुल आगन्तुकमध्ये करिब २६ प्रतिशत विदेशी तथा सार्क मुलुकका नागरिक रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो ।

यद्दपि, कम्पनीको सञ्चालन प्रदर्शनमा सेप्टेम्बर २०२५ को आन्दोलनको प्रभाव स्पष्ट देखिएको छ । आन्दोलनका क्रममा भएको क्षतिका कारण केबलकार सेवा करिब तीन महिना बन्द हुँदा आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीको आम्दानी र नाफा दुवै प्रभावित भएको थियो । सो अवधिमा सञ्चालन नाफा मार्जिन ५२ प्रतिशतबाट घटेर ३९ प्रतिशतमा झरेको थियो भने आम्दानी करिब २८ प्रतिशतले घटेको थियो।

केबलकार सेवा बन्द हुँदा रिसोर्ट व्यवसायमा समेत प्रत्यक्ष असर परेको थियो । आगन्तुक संख्या घट्दा रिसोर्टको अकुपेन्सी दर अघिल्लो वर्षको ३६ प्रतिशतबाट घटेर २२ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । यद्दपि, ऋण पुनर्तालिकीकरणको व्यवस्थाले कम्पनीलाई तत्काल ऋण भुक्तानीको दबाबबाट केही राहत दिएको जनाइएको छ।

इक्राले आगामी दिनमा कम्पनीले केही महत्वपूर्ण चुनौतीहरु सामना गर्नुपर्ने पनि औंल्याएको छ। काठमाडौं उपत्यका आसपास नयाँ होटल तथा रिसोर्ट परियोजनाहरु थपिँदै जाँदा प्रतिस्पर्धा बढिरहेको छ । चन्द्रागिरिको १०० कोठे बुटिक रिसोर्ट कुनै अन्तर्राष्ट्रिय होटल ब्रान्डसँग आवद्ध नभएकाले मूल्य निर्धारण तथा बजार विस्तारमा थप प्रतिस्पर्धात्मक दबाब पर्न सक्ने विश्लेषण गरिएको छ ।

त्यसैगरी पर्यटन क्षेत्रको मौसमी तथा चक्रीय प्रकृतिले कम्पनीको नगद प्रवाहमा उतारचढाव ल्याउने जोखिम कायमै रहेको उल्लेख छ । आर्थिक सुस्तता, मुद्रास्फीति, बढ्दो हवाई भाडा तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिले पनि पर्यटन गतिविधिमा असर पार्न सक्ने भएकाले कम्पनीको तरलता व्यवस्थापन क्षमता आगामी दिनमा महत्वपूर्ण रहने एजेन्सीको भनाइ छ ।

सन् २००९ मा स्थापना भएको चन्द्रागिरि हिल्स लिमिटेड आईएमई समूहसँग आबद्ध प्रवर्द्धकहरुको लगानी रहेको कम्पनी हो । यस कम्पनीले केबलकार सेवा, रिसोर्ट सञ्चालन गर्दै आएको छ । आईसीआरए नेपालले आगामी दिनमा कम्पनीले बढ्दो प्रतिस्पर्धाबीच आम्दानी र नाफा वृद्धि गर्न सक्ने क्षमता तथा हकप्रद सेयरमार्फत ऋण घटाउने योजनाको कार्यान्वयनलाई रेटिङको प्रमुख निगरानी बिन्दुका रुपमा राखेको छ कम्पनीले चालु आर्थिक वर्षको ९ महानमा ४५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

सम्बन्धित समाचार