नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय, बर्दियाले कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन अटेरी गर्ने २९ करदाताको नाम सार्वजनिक गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेका व्यवसायी तथा फर्महरूको विवरण सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको छ। तोकिएको समयभित्र कर दायित्व पूरा नगरेका कारण कानुनी प्रक्रियाअन्तर्गत नाम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।
सार्वजनिक सूचीमा विभिन्न उद्योग, निर्माण कम्पनी, सेवा व्यवसाय तथा व्यापारिक फर्महरू समावेश छन्। कार्यालयले सम्बन्धित करदातालाई यथाशीघ्र बक्यौता रकम बुझाई कानुनी झन्झटबाट बच्न आग्रह गरेको छ। साथै, कर असुलीका लागि आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ। आन्तरिक राजस्व कार्यालय, बर्दियाले कर प्रणालीलाई प्रभावकारी बनाउन तथा कर अनुशासन कायम गर्न नाम सार्वजनिक गर्ने प्रक्रिया अपनाइएको जनाएको छ।
