काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ ।
उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ । हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको बैंकले जनाएको छ ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।