बाढी पहिरोले क्षति बनाएको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

0 Shares

म्याग्दी । गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गराउने पाइपलाइन मर्मत कार्यलाई तीव्र पारिएको छ ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका ८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइपलाइन बनाएर खानेपानी आपूर्ति गराउने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष रमेश गिरीले राहुपारे-गलेश्वर र डल्लेपिपल-बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइपलाइन निर्माण भइरहेको जानकारी दिए । ‘राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे-गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल-कालीपुल-बेनी चक्रपथ-दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको हो ।’

कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेको छ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट तिहारअघि नै पानी आपूर्ति गराउने तयारीमा जुटेको संस्थाका अध्यक्ष गिरीले बताए ।

बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।

खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायी पनि प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लब लगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए ।

अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी-जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए । सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारि खानेपानी तथा ढल ब्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।

सम्बन्धित समाचार