शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि देखिँदै, देशभर बदली र वर्षाको सम्भावना

0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभाव आज बिहीबारदेखि नेपालमा उल्लेखनीय रूपमा पर्ने जनाएको छ ।

पश्चिममध्य बंगालको खाडीमा बनेको यो चक्रवात बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । चक्रवातको प्रभावका कारण गएरातिदेखि नै देशभरको आकाशमा साधारणतया बादल लागे पनि तत्काल वर्षा भने भइसकेको छैन ।

मौसम महाशाखाले एक विशेष सूचना जारी गर्दै बिहीबारदेखि चक्रवातको उल्लेखनीय असर देखिने भएकाले आम नागरिकलाई आ-आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन र आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ ।

यसअघि कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा असिना र हिमपातको पूर्वानुमान गरिएकाले मौसममा आउने यो परिवर्तनप्रति विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार