जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

0 Shares

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने जेसीबी उपकरण खरिदलाई सहज बनाउन एम.ए.डब्लु. अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले ग्लोबल आइएमई बैंकमार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल राष्ट्र बैंकको प्रचलित मापदण्डअनुसार अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।

समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका वित्त तथा जोखिम (एफ एन्ड आर) प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार आवश्यक कागजात र प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर (डीओ) जारी गरिनेछ। ग्राहकले जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्ष अवधिको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

दुवै संस्थाले यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि आवश्यक वित्तीय पहुँच सहज बनाउने विश्वास व्यक्त गरेका छन्। प्रतिस्पर्धी ब्याजदर र सरल प्रक्रिया मार्फत साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक निर्माण उपकरणमा लगानी गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

एम.ए.डब्लु. अर्थमुभर्सले उपलब्ध गराउँदै आएको जेसीबी उपकरण, देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिद, सञ्चालन र मर्मतसम्भारसम्म एकीकृत समाधान उपलब्ध गराउने दाबी गरिएको छ।

दुवै संस्थाले आगामी दिनमा पनि ग्राहकमैत्री वित्तीय तथा व्यावसायिक सेवाहरू विस्तार गर्दै नेपालको निर्माण तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार